पाल्पा – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले पाल्पामा क्यान्सर उपचारसम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न गरेको छ। क्यान्सर उपचारमा बहु–विषयगत र व्यक्तिकेन्द्रित उपचार पद्धतिको महत्वबारे केन्द्रित उक्त कार्यक्रम शनिबार आयोजना गरिएको हो।
कार्यक्रममा पाल्पा जिल्लामा कार्यरत चिकित्सकहरूबीच क्यान्सर उपचारका आधुनिक अभ्यास, उपचारमा विभिन्न विषयका चिकित्सकको संयुक्त भूमिकाको आवश्यकता तथा बिरामीअनुकूल उपचार प्रणालीबारे ज्ञान आदानप्रदान र अन्तरक्रियात्मक छलफल गरिएको थियो।
कार्यक्रमका विशेष अतिथिका रूपमा लुम्बिनी मेडिकल कलेजका सह–प्राध्यापक तथा प्राचार्य डा. राजु प्रसाद शाक्य र नेपाल चिकित्सक संघका अध्यक्ष प्रा. डा. निल राज शर्मा सहभागी हुँदै क्यान्सर उपचारमा बहु–विषयगत टोलीको अवधारणाले उपचारको गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमको नेतृत्व नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ र मेडिकल निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बिजेश राज घिमिरेले गरेका थिए। उनीहरूले क्यान्सर उपचारमा चिकित्सक, शल्यचिकित्सक, रेडियोथेरापी विशेषज्ञ, नर्स तथा अन्य स्वास्थ्यकर्मीको संयुक्त समन्वय, बिरामी केन्द्रित उपचार पद्धति र दीर्घकालीन उपचार व्यवस्थापनबारे विस्तृत प्रस्तुति दिए।