बर्दिबास– नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले महोत्तरीको बर्दिबासमा आयोजना गरेको निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बर्दिबास अस्पतालसहित आसपास क्षेत्रका चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको वैज्ञानिक सत्रको नेतृत्व नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर तथा वरिष्ठ कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. बिजेश राज घिमिरेले गरेका थिए। उनले क्यान्सर उपचारमा अस्पतालले अपनाएको समग्र (होलिस्टिक) दृष्टिकोण, बहु–विषयगत उपचार पद्धति, बिरामीको अवस्था अनुसार तयार गरिने व्यक्तिगत उपचार योजना तथा बिरामी केन्द्रित सेवाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन नेपाल क्यान्सर अस्पतालकी मार्केटिङ म्यानेजर स्मिता बमले गरेकी थिइन्। कार्यक्रममा विशेष अतिथिका रूपमा जनकी मेडिकल कलेजका सह–प्राध्यापक तथा बर्दिबास जनसेवा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. दिनेश कुमार श्रेष्ठ र बर्दिबास अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल को–अर्डिनेटर डा. रितेश घिमिरेको उपस्थिति रहेको थियो।
विशेष अतिथिहरूले बर्दिबासमा यस्ता निरन्तर चिकित्सकीय शिक्षा कार्यक्रम आयोजना गरेकोमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरप्रति धन्यवाद व्यक्त गर्दै यसले चिकित्सकहरूबीच ज्ञान तथा अनुभव आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चिकित्सक, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि क्यान्सर उपचार र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।