‘आस्क द एक्सपर्ट’ अर्थात् विशेषज्ञलाई सोध्नुहोस् शीर्षकको प्यानल छलफलसहित ५५ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ।
पौस २४ गते बिहीबार ‘सर्भाइकल क्यान्सर अवेयरनेस मन्थ’को अवसर पारेर नेपाल क्यान्सर अस्पतालमा आयोजना गरिएको कार्यक्रममा क्यान्सर विशेषज्ञहरूले क्यान्सर सर्भाइभर तथा उपचाररत बिरामीहरूको जिज्ञासाको उत्तर दिएका थिए।
‘आस्क द एक्सपर्ट’ सत्रको सुरुवातमा एक क्यान्सर सर्भाइभरले मेकअपसम्बन्धी प्रश्न गरेकी थिइन्। उक्त प्रश्नको जवाफ दिँदै गाइनकोलोजिस्ट डा. अनु बज्राचार्यले केमिकलरहित मेकअप प्रयोग गर्न सकिने बताइन्। उनले आवश्यकता अनुसार ग्रुमिङ गर्न सकिने सुझावसमेत दिइन्।
सोही विषयमा स्पष्ट पार्दै नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठले भने, “मेकअप गर्न नमिल्ने होइन, तर उपचारका क्रममा अलि नेचुरल रहन सुझाव दिन्छौं।”
त्यसैगरी एन्टी ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपबारे सहभागीहरूले उठाएका जिज्ञासामा विज्ञ चिकित्सकहरूले स्पष्ट पारेका थिए। अन्को सर्जन डा. कपिन्द्रशेखर अमात्यले रोबोटिक सर्जरी र सामान्य सर्जरीबीचको भिन्नताबारे बिरामीहरूमा रहेको कौतुहलता मेटाउने प्रयास गरेका थिए।
कार्यक्रममा क्यान्सर सर्भाइभर तथा उपचाररत बिरामीहरूले विभिन्न विषयमा प्रश्न राखेका थिए। ती जिज्ञासामा डा. सुदीप श्रेष्ठ, डा. अनु बज्राचार्य, डा. कपिन्द्रशेखर अमात्यसहित रेडियसन अन्कोलोजिस्ट डा. गिसुप निख प्रसिको, मेडिकल अन्कोलोजिस्ट डा. विजेशराज घिमिरे, रेडियोलोजिस्ट डा. सरोज चटौत, हेड एन्ड नेक सर्जन डा. प्रभातचन्द्र ठाकुर, प्याथोलोजिस्ट डा. हरिप्रसाद ढकाल र डा. मुरारीमोहन श्रेष्ठले उत्तर दिएका थिए।
कार्यक्रमको अध्यक्षता गरेकी क्यान्सर सपोर्ट समूहकी उपाध्यक्ष तथा नेपाल क्यान्सर अस्पतालकी बोर्ड सदस्य स्वरुपा श्रेष्ठले ‘आस्क द एक्सपर्ट’ कार्यक्रम क्यान्सर सर्भाइभर र बिरामीहरूले आफ्ना मनका कुरा चिकित्सकसँग खुलस्त राख्न र आत्मविश्वास विकास गर्नका लागि आयोजना गरिएको जानकारी दिइन्।