नेपाल क्यान्सर अस्पतालले भब्यरुपमा मनायो छैठौं वार्षिकोत्सव
काठमाडौं । नेपालको क्यान्सर उपचारको अग्रणी संस्था नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव मनाउन सफल भएको छ ।
नेपालीको क्यान्सरको उपचार नेपालमा नै भन्ने नारासहित क्यान्सरको उपचार गरिरहेको उक्त संस्थाले शनिबार भव्यरुपमा वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले सबै तहका मानिसहरुको साथ, सहयोग र मायाका कारण क्यान्सर अस्पतालले क्यान्सर बिरामीहरुको उपचारमा अग्रणी भूमिका खेल्न सकेको बताए ।
सबैको साथ र सहयोगका कारण नै क्यान्सर अस्पतालले छोटो समयमा नै सबैको विश्वास जित्न सफल भएको बताए । उनले अस्पताल संचालन गर्दाेको समय ज्यादै नै कष्टकर भएको तथ्य स्मरण गर्दै अस्पताललाई यो अवस्थामासम्म ल्याउनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै अस्पतालका प्रमुख सल्लाहकार पूर्व प्रधानसेनापति रुक्मागंत कटुवालले नेपाल क्यानसर अस्पतालले नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नारालाई पूरा गरेको बताए। उनले क्यान्सर उपचारका लागि विदेश वा अरु कुनै पनि ठाउँ जान नपर्ने गरी सेवा दिएकोमा अस्पताल परिवारलाई धन्यवाद समेत दिए।
कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा.ब्रिजेशराज घिमिरेले अस्पतालले हाल अब्बल सेवा प्रदान गरेपनि आगामी दिनमा ती सेवाहरुलाई अझै गुणस्तरीय बनाउँदै लैजाने बताए । वार्षिकोत्सवको अवसरमा लामो समय कार्यरत कर्मचारीहरुलाई अस्पतालका तर्फबाट सम्मान गरी स्मारिका समेत विमोचन गरिएको थियो ।