मकवानपुर। नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रले क्यान्सर उपचारसम्बन्धी निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम अस्पतालले नेपाल चिकित्सक संघ हेटौँडा शाखाको सहकार्यमा आयोजना गरेको हो।
कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका विभिन्न क्यान्सर रोग विशेषज्ञहरूले हेटौँडाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूलाई बहु–विषयक क्यान्सर उपचार मोडेलबारे महत्वपूर्ण जानकारी गराएका थिए।
वक्ताका रूपमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा मेडिकल अनकोलोजिस्ट डा. सुदीप श्रेष्ठले ‘द मल्टिडिसिप्लिनरी मोडेलः अ न्यु स्ट्यान्डर्ड इन पर्सनलाइज्ड क्यान्सर केयर’ शीर्षकमा प्रस्तुति गर्दै क्यान्सर उपचारमा बहु–विषयक मोडेलको महत्त्व, व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना तयार गर्ने प्रक्रिया तथा अस्पतालले अपनाइरहेको पर्सनलाइज्ड क्यान्सर केयर अवधारणाबारे विस्तृत जानकारी दिए।
८० भन्दा बढी चिकित्सकको सक्रिय सहभागिता रहेको कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडाका उपकुलपति डा. प्रदीप ज्ञवाली, रेक्टर डा. दिनेश लाम्साल, प्रतिष्ठानका डा. दिनेश बनस्तोला तथा एनएमए मकवानपुर शाखाका अध्यक्ष डा. हरि बहादुर खड्कालगायतको उपस्थिति रहेको थियो।