24 hrs Helpline +977-1-5251312

विश्व क्यान्सर दिवस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्यान्सर बिजेताहरुले भब्य रुपमा मनाए |

ललितपुर, २२ माघ । पछिल्लो समयमा नेपालमै क्यान्सरको उपचार गुणस्तरीय र सर्वसुलभ छ भन्ने कुरा थाहा नपाएर या थाहा हुँदाहुँदै पनि अस्पतालको विश्वास नगरेर उपचारको लागि भारतीय अस्पताल धाउने क्यान्सरका विरामीहरु भारतमा ठगिनुपरेको भुक्तभोगीहरुले गुनासो गरेका छन् ।
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सहयोग समूहद्वारा मंगलबार सो अस्पतालमा संयुक्तरुपमा आयोजना गरिएको क्यान्सर जितेकाहरु र उपचारका क्रममा रहेकाहरुको अनुभव आदानप्रदान कार्यक्रममा भारतमा क्यान्सरको उपचारको नाउँमा लामो समय बसेर ठुलो रकम खर्चेर फर्केकाहरुले सो गुनासो गरेका थिए ।
नेपालमै क्यान्सरका विशिष्ट सुविधायुक्त क्यान्सर अस्पताल हुँदाहुँदै पनि उपचारको लागि अहिलेपनि भारतमा जानेहरुले नेपालको भन्दा चार गुना बढी पैसा खर्च गर्न वाध्य भएको उनीहरुले बताए । ‘नेपालमै आधा पैसामा उपचार हुने क्यान्सरको उपचारको लागि मैले भारतको क्यान्सर अस्पतालमा उपचार गराउँदा ३५ लाख भारतीय रुपैयाँ अर्थात करीव ५६ लाख नेपाली रुपैयाँ सकियो’—६ वर्षअघि फुडपाइपमा क्यान्सर भएर भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा ६ महिना उपचार गरि फर्केका नेपाल प्रहरीका डिएसपि बासुदेव पाठकले भने ।
त्यतिखेर नेपालमा क्यान्सरको उपचारको लागि स्तरीय अस्पताल नभएकै कारण आफु भारतीय अस्पताल धाउन परेको गुनासो गर्दै पाठकले भने ‘अब त कुनैपनि क्यान्सरका विरामी नेपालीले उपचारको लागि भारत धाउनुपर्दैन, सबै उपचार नेपालमै संभव रहेछ ।’ नेपालमै क्यान्सर उपचार भएपछि नेपालीले क्यान्सर लाग्यो भनेर अव पटक्कै आत्तिनुपर्दैन उनले भने ।
‘क्यान्सर लागेपछिको जीवन अँध्यारोजस्तो भएपनि निको भएपछिको जीवन सुन्दर र उज्यालो रहेको’ क्यान्सर जितेका डिएसपि पाठकको भनाई थियो । औषधि उपचारले मात्रै होइन, क्यान्सर त विरामीको आत्वविश्वास र परिवारको सहयोगले पनि छिटै निको हुने रहेछ, डिएसपि पाठकले भने—‘क्यान्सर लाग्यो भनेर डराउने र लुकाउने होइन, समयमै उपचार गर्नुपर्ने रहेछ । ’
प्रहरी निरीक्षक हुँदा क्यान्सर लागेका कारण संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा जान नपाएका पाठक, क्यान्सर निको भएपछि आवश्यक तालीम पुरा गरि डिएसपिमा पदोन्नति भएर अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । उनी सुडान पनि पुगेर आइसकेका छन् ।अर्का क्यान्सर विजेता सञ्चार उद्यमी एवम् सञ्चारकर्मी जगन्नाथ ढकाल नेपालका चिकित्सकहरुको व्यवहार आफुलाई चित्त नबुझेर भारतको गंगाराम अस्पतालमा क्यान्सर उपचार गर्न वाध्य भएको उल्लेख गर्दै नेपालका चिकित्सकहरुले विरामीलाई गर्ने व्यवहार नरम र प्रोत्साहन दिने खालको हुनुपर्ने बताए । नेपालमै खर्चिनुपर्ने करोडौ रुपैयाँ हरेक दिन क्यान्सर उपचारको निहुँमा भारतीय वजारमा गईरहेकोप्रति पनि उनले गुनासो गरे ।
धेरै क्यान्सरका विरामीनेपाली डाक्टरहरुको व्यवहार र उनीहरुमाथि विश्वास गर्न नसकेकै कारण अहिलेपनि भारतीय अस्पतालमा गएर उपचारको नाउँमा लाखौं रुपैयाँ खर्चिन वाध्य रहेको ढकालको भनाई थियो । स्तन क्यान्सर विजेता बिमला थापा पनि आफुलाई क्यान्सर हुँदा नेपालमा राम्रो अस्पताल नहुँदा उपचारको लागि भारतमा जानु परेको र परिवारको सहयोगले नयाँ जीवन पाएको बताइन ।
आफुलाई क्यान्सर भएको थाहा पाएपछि आफ्नो मिल्ने साथीले समेत अपमान गरेको तितो यथार्थता सुनाउँदै भनीन्—‘क्यान्सर सर्ने रोग हैन, समयमै उपचार गरे निको हुन्छ बरु बिरामीको आत्मबल बढाउनुपर्छ ।’ कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.सुदिप श्रेष्ठले क्यान्सर नेपालमै उपचार हुन्छ र समयमै उपचार गरे निको हुन्छ भन्दै ८० प्रतिशत क्यान्सर उपचारकै कारण निको हुने हुनाले अन्धविश्वासमा पर्न नहुने कुरामा जोड दिए ।
त्यस अवसरमा क्यान्सर विजेता नेपालकी प्रथम मोडल एवम् पर्यटन व्यवसायी डली गुरुङ्ले क्यान्सरको केमोथेरापी कोर्स पुरा गरेका बिरामीको जीवनमा उत्साह थप्न र खुशीयाली मनाउन अस्पताल हातामा राख्नेगरि नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरूपा श्रेष्ठलाई एउटा ठुलो ढलौटको घण्टा हस्तान्तरण गरीन् ।
कार्यक्रममा क्यान्सर विजेता र उपचारका क्रममा रहेकाहरुले आफ्नो अनुभव मात्रै सुनाएनन, आफ्ना नृत्य कला देखाउनुका साथै कविता समेत सुनाएका थिए ।

साभार :एभरेष्ट मिसन 

  2020-02-06

Expert Doctors

Related

Read More