24 hrs Helpline +977-1-5251312

‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक’ हुँदै

पराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्य र आयुष केसीको प्रस्तुति

ललितपुर, १६ साउन । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धि ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा नेपालमै पहिलोपटक यही साउन १८ गते शनिबार ‘सुदिप्त सुपर किड्स क्यान्सर सभाईभर र्याम्प वाक’ आयोजना हुँदैछ ।

‘वालवालिकाको क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको ‘र्याम्प वाक’ मा क्यान्सर रोगको उपचार गराईराखेका र क्यान्सर निको भइसकेका २ देखि १८ वर्ष उमेरका काठमाण्डौ उपत्यका र विभिन्न जिल्लाका ५० वालवालिका सहभागी हुनेछन ।

समयमै निदान भई उपचार हुन सकेमा क्यान्सर निको हुने र क्यान्सर सामान्य रोग हो भनेर जनचेतना फैलाउन आयोजना गर्न लागिएको सो ‘र्याम्प वाक’ मा सहभागी वालवालिकाले गायन, नृत्य र अन्य प्रस्तुतिबाट आफ्नो परिचय गराउनेछन । क्यान्सरलाई जितेका र उपचारको माध्यमबाट क्यान्सरसंग लडिरहेका वालवालिकाको मनोवल उच्च राख्दै उनीहरुलाई समाजमा अन्य वालवालिका सरह नै प्रतिष्थापन गर्नु ‘र्याम्प वाक’को अर्काे उद्धेश्य रहेको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्नेछन भने भारतीय चर्चित रियालिटी शो ‘सारेगमप’ मा तेस्रो भएका वाल गायक आयुष केसीले आफ्नो प्रस्तुति दिनेछन ।

      

कार्यक्रममा वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेतको सहभागिता रहने आयोजक नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बिहीबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरमा आयोजित पत्रकार सम्मेलनमा बताइन् । उनका अनुसार सो र्याम्प वाकमा ५ सय भन्दा बढी दर्शकको सहभागिता हुनेछ ।

पत्रकार सम्मेलनमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले वयस्क व्यक्तिको जस्तै वालवालिकामा लाग्ने सबै प्रकारको क्यान्सरको उपचार नेपाल क्यान्सर अस्पतालमा उपलव्ध भएकोले समयमै रोगको पहिचान र उपचार गर्न सर्वसाधारणसंग आग्रह गरे ।

सोही अस्पतालकी वाल क्यान्सर विशेषज्ञ डा.अञ्जली पण्डीतले वालवालिकामा लाग्ने सबै प्रकारको क्यान्सर समयमै उपचार गरे ८० देखि ९० प्रतिशतसम्म निको हुने गरेको बताइन ।

वालवालिकामा जन्मेदेखि नै क्यान्सर देखा परेको उल्लेख गर्दै डा.पण्डीतले वालवालिकामा अत्यधिक मात्रामा देखिने रक्त क्यान्सरको मुख्य कारण अहिलेसम्म विकसित देशले समेत पत्ता लगाउन नसकेको तर यसको उपचार नेपालमा पनि संभव भएको प्रष्ट पारीन ।

                            --साभार: https://everestmission.com

 

                           

  2019-08-02