सुदिप्त क्यान्सर सर्भाइभर भेला

उन्नाईसौं सुदिप्त क्यान्सर सर्भाइभर भेला सम्पन्न

नोभेम्बर-२८, नेपाल क्यान्सर हस्पिटल एवं नेपाल क्यान्सर सपोर्ट ग्रुप को संयुक्त आयोजनामा उन्नाईसौं सुदिप्त क्यान्सर सर्भाइभर भेला जूमका माध्यमबाट सम्पन्न भएको छ। यस नोभेम्बर महिना फोक्सोको क्यान्सरको बारेमा सचेतना महिनाका रुपमा मनाईने भएकाले यस कार्यक्रममा नेपालमा फोक्सो को क्यान्सरका वर्तमान अवस्था तथा चुनौतीहरुका बारेमा छलफल गरिएको थियो। नेपाल क्यान्सर सपोर्ट ग्रुपको तर्फबाट स्वागत मन्तव्य दिदै महासचिव शसांक शर्माज्युले नेपाल क्यान्सर सपोर्ट ग्रुपको सन्क्षिप्त जानकारी दिनुभएको थियो। सुदिप्त कार्यक्रम शृंखलाकि समन्वयकर्ता श्रीमती स्वरुपा श्रेष्ठज्युले जनचेतना जगाउन क्यान्सर सर्भाइभर समुहको भूमिका अपरिहार्य हुने कुरामा प्रकाश पार्नुहुँदै सर्वप्रिय कलाकार श्री मदनकृष्ण श्रेष्ठज्यु अभिनित फोक्सोको क्यान्सर विरुद्धको जनचेतनामुलक भिडियो पनि लोकार्पण गर्नुभयो। कार्यक्रममा यस भिडियोको निर्माणमा महत्वपुर्ण भूमिका खेल्नुहुने बरिष्ठ कार्डियोथोरासिक सर्जन डा सम्पूर्णमान तुलाधरज्युले विश्वमै धेरै अनुपातमा देखिएको यस फोक्सोको क्यान्सर अझ नेपालसम्म आइपुग्दा निदानका उपकरणहरुमथिको पहुँच एवं जनचेतनाको कमीका कारणले रोगको प्रारम्भिक चरणमा निदान हुन नसकी धेरै उपचारका प्रयासहरु असफल भईरहेको कुरा बताउनुभयो। कार्यक्रममा हस्पिटलका तर्फबाट डा सुदिप श्रेष्ठ तथा श्रीमती स्वरुपा श्रेष्ठ, डा बिजेश राज घिमिरे, डा हरि प्रसाद ढकाल, डा गिसुपनिख प्रसिको, डा सम्पूर्णमान तुलाधर तथा डा अमृत कोइराला सहभागी हुनुभएको थियो। साथै नेपाल क्यान्सर सपोर्ट ग्रुपका तर्फबाट उपाध्यक्ष श्री दिलिप भट्टराईज्यु , महासचिब श्री शसांक शर्मा ज्यु तथा कोषाध्यक्ष गणेश भक्त श्रेष्ठज्यु सहभागी हुनुहुन्थ्यो।
नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका वरिष्ठ मेडिकल अन्कोलोजिस्ट एवं कार्यकारी निर्देशक डा सुदिप श्रेष्ठ ज्युले अहिले कोभिड-१९ महामारीको बेलामा पनि क्यान्सरको शंका लागेमा अस्पताल जान नडराई आफ्नो व्यक्तिगत सुरक्षाको ख्याल राखेर डाक्टरसंग सल्लाह लिईहाल्नुपर्ने कुरामा जोड दिनुभयो। यसै क्रममा फोक्सोको क्यान्सरको निदानका क्रममा प्रयोग हुने रडियोलोजिकल प्रक्रियाहरुका बारेमा जानकारी दिदै कैयौं केसमा सामान्य एक्स-रे द्वारा नै फोक्सोको क्यान्सरको निदान हुन सक्ने र केहि केसमा सिटि -स्क्यान गर्नुपर्ने अवगत डा अमृत कोइरालाज्युले गराउनुभयो। साथसाथै यदि क्यान्सरको शंका लागेको अवस्थामा प्रभावित तन्तुको केहि टुक्रा निकालेर बायोप्सी टेस्ट गर्नुपरेमा पनि नेपाल क्यान्सर हस्पिटलमा सिटि स्क्यानका सहायताले सजिलैसंग डायग्नोस्टिक एण्ड इन्टरभेन्सनल रेडियोलोजिकल सुविधाहरु लिन सकिने उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै मेडिकल डाइरेक्टर एवं बरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा बिजेशराज घिमिरेज्युले अहिले कोरोना महामारीको कारणले साधारण मानिसहरुको ध्यान उहाँहरुको फोक्सो तथा स्वासप्रस्वास प्रणालीतर्फ बढिरहेको हुँदा यस प्रवृत्तिलाई कोरोनपछिको समयमा पनि लागु गर्न सके फोक्सोको क्यान्सरको कहर दिर्घ रुपमा कम हुन सक्ने बताउनुभयो। तथापि कोभिड-१९ को डरका कारणले धेरै क्यान्सर बिरामी अस्पताल जान निरुत्साहित भएका घटना आफ्नै व्यक्तिगत अनुभवबाट सुनाउँदै कोभिड-१९ का कारणले क्यान्सरको उपचार रोक्न थाम्न नसकिने अवगत गराउनुभयो। कोरोना र फोक्सोको क्यान्सर दुवै स्वासप्रस्वास प्रणालीका रोग भएका यिनीहरु दुइबिचको दिर्घकालिन सम्बन्ध स्थापित हुन अझ केहि बर्षको अध्ययन तथा अनुसन्धान लाग्ने हुँदा यस बारेमा अहिले नै निर्क्यौलका साथ् केहि भन्न नसकिने कार्यक्रममा स्थापित गरियो। नेपाल क्यान्सर सपोर्ट ग्रुपका कोषाध्यक्ष श्री गणेश भक्त श्रेष्ठ ज्युले अहिलेको अवस्थामा नेपालमा फोक्सोको क्यान्सरको उपचारको अवस्थाका बारेमा गर्नुभएको प्रश्नको जवाफमा डा सुदिप श्रेष्ठ ज्युले अहिलेको विज्ञानले यस क्षेत्रमा ठुलो फड्को मारिसकेको र सर्जरी, केमोथेरापी तथा अत्याधुनिक रेडियोथेरापीका माध्यमबाट जटिल भन्दा जटिल किसिमको क्यान्सरको उपचार पनि भईनै रहेको जानकारी दिनुभयो।
कार्यक्रममा डा सम्पूर्णमान तुलाधरले नेपाली समाजका महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा प्रधानमन्त्री सुशील कोइरालाको उदाहरण दिंदै समाजमा यस्ता दुखद घटनाहरु भएतापनि क्यान्सर सर्भाइभर हरुको कथालाई पनि सकारात्मक रुपमा समाजमा लैजान सके यसको निवारणमा सहयोग पुग्ने मन्तव्य दिनुभयो। नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष श्री दिलिप भट्टराईज्युको प्रश्नमा डा सुदिप श्रेष्ठले स्वास्थ्यमा पब्लिक प्राइभेट पार्टनरशिप को नमुनामा गर्न सकिने जनचेतना एवं उपचारात्मक कार्यहरु तथा सरकारका तर्फबाट क्यान्सरको मुख्य कारकतत्व सुर्तीजन्य पदार्थमथिको प्रतिबन्ध जस्ता विषयमा आफ्नो विचार प्रस्तुत गर्नुभयो। यसैगरी प्याथोलोजी एण्ड ल्याबोरेटोरी साइन्सका विभागीय प्रमुख बरिष्ठ कन्सल्टेन्ट डा हरिप्रसाद ढकाल ज्युले अब क्यान्सरको निदानमा तथा उपचारमा मोलिक्युलर पद्दतिहरु हाबी हुदै गएको अवस्थामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले पनि यस दिशामा कदमहरु बढाइसकेको र एकै छतमुनि सम्पूर्ण सुविधाहरु उपलब्ध गराउने यस अस्पतालको लक्षमा यस कदमले अझ सहायता गरेकोमा विश्वास जनाउनुभयो। उहाँले व्यवहारगत तथा जीवनपद्दतिय कारकहरुमाथि नियन्त्रण राख्न राखेमा क्यान्सरको प्रकोप धेरै निवारण हुनसक्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम को अन्त्यमा नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा नेपाल क्यान्सर हस्पिटलको तर्फबाट भिडियो निर्माणमा प्राबिधिक सहयोग गर्ने श्री आलोकसिद्धि तुलाधरज्युलाई विशेष धन्यवाद दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Search

+

This will close in 5 seconds